Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

खराब मौसमका कारण रेसुङ्गा–काठमाडौं उडान तीन सातादेखि अवरुद्ध


काठमाडौं । लगातारको वर्षा र प्रतिकूल मौसमका कारण गुल्मीस्थित रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि हुने नियमित हवाई उडान तीन सातादेखि प्रभावित बनेको छ। जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल लाग्ने र मौसम अनुकूल नहुँदा निर्धारित उडान सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

यात्रुको बढ्दो मागलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा हरेक आइतबार, मंगलबार र बिहीबार नियमित उडान गर्दै आएको छ। तर वर्षायाम सुरु भएसँगै मौसम प्रतिकूल बन्दै गएपछि पछिल्ला तीन सातादेखि उडान प्रभावित भइरहेको हो।

हाल गुल्मीबाट काठमाडौंका लागि प्रतियात्री १० हजार ७०२ रुपैयाँ तथा काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ हवाई भाडा कायम गरिएको छ। निर्धारित तालिकाअनुसार विमान बिहान ६:३० बजे काठमाडौंबाट रेसुङ्गातर्फ उड्ने तथा बिहान ७:४५ बजे रेसुङ्गाबाट काठमाडौं फर्कने व्यवस्था छ।

रेसुङ्गा विमानस्थल सञ्चालनमा आएपछि गुल्मीको हवाई पहुँच विस्तार भएको छ। यसले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक र विदेशी पर्यटकको आवागमन बढाउन उल्लेखनीय सहयोग पुर्‍याएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट