Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन


काठमाडौं । देशका विभिन्न स्थानमा बर्ड फ्लुको सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रसारण सुरु गरेको छ। मानिसमा सम्भावित सङ्क्रमण फैलिन नदिन सचेतना अभियानलाई तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार फोन गर्दा सुनिने विशेष सन्देशमार्फत बर्ड फ्लुबाट जोगिने उपायबारे जानकारी दिइँदै आएको छ। सङ्क्रमित, बिरामी वा मरेका कुखुरा तथा अन्य पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी फेला परेमा त्यसको नजिक नजान र सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।सन्देशमा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, पन्छीजन्य मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा आवश्यक जानकारी वा परामर्शका लागि हेलो स्वास्थ्यको टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण पुष्टि भइरहेकाले नागरिकमा सही सूचना प्रवाह गर्न र अनावश्यक त्रास फैलिन नदिन मोबाइल रिङटोनमार्फत सचेतना अभियान सञ्चालन गरिएको बताएकी छन्।

सरकारले संक्रमित कुखुरा तथा अन्य पन्छी नष्ट गर्ने, प्रभावित क्षेत्रमा निगरानी बढाउने, प्राविधिक टोली परिचालन गर्ने र जैविक सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन गराउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट