PulseRSP’ नामक नयाँ प्रणाली सञ्चालनमा ल्याउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधिलाई व्यवस्थित, पारदर्शी र डिजिटल माध्यमबाट अनुगमन गर्ने उद्देश्यसहित ‘PulseRSP’ नामक नयाँ प्रणाली सञ्चालनमा ल्याउने भएको छ।
पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा शुक्रबार जारी सूचनाअनुसार उक्त प्रणालीको प्रयोगबारे प्रतिनिधिसभाका सदस्यहरूलाई जानकारी गराउन बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछानेको पनि सहभागिता रहने जनाउँदै सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
रास्वपाले नयाँ प्रणालीमार्फत सांसदहरूले बैठक सम्पन्न भएपछि आफ्ना गतिविधि नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ। संसदमा उठाउने विषय, निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट तथा अन्य सार्वजनिक गतिविधिको विवरण पनि यही पोर्टलमा राख्नुपर्नेछ।
त्यस्तै, सांसदसँग भेटघाटका लागि नागरिकले अनलाइनबाट समय लिन सक्ने सुविधा पनि प्रणालीमा समावेश गरिएको छ। नागरिकले आफ्ना गुनासा तथा सुझाव यही माध्यमबाट दर्ता गर्न सक्नेछन् भने ती विषयको प्रगतिसमेत ट्र्याक गरिनेछ। पार्टीका अनुसार यही आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने व्यवस्था समेत गरिएको छ।
यससँगै सांसदहरूलाई साइबर सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण पनि प्रदान गरिने कार्यक्रम तय गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया