१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका १४ जिल्लाबाट बग्ने साना नदी तथा खोलामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले आइतबार बिहान सार्वजनिक गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर तथा आसपासका क्षेत्रमा पर्ने साना नदी र खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।
यद्यपि देशका प्रमुख नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले जनाएको छ। बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। त्यसैगरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित अवस्थामै रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी दुई दिनमा बाढीको जोखिम पूर्वी तथा मध्य नेपालतर्फ सर्ने संकेत गरेको छ। भोलि असार २३ गते र पर्सि असार २४ गते कोशी, बागमती, गण्डकी तथा मधेस प्रदेशका केही साना नदी र खोलामा पानीको सतह आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदी तर्ने तथा नदी आसपासका गतिविधिमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया