अत्याधिक गर्मी बढ्दै, वीरगञ्जका विद्यालय चार दिन बन्द
देशका अधिकांश क्षेत्रमा गर्मी बढ्दै गएको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी तथा तातो हावाको प्रभाव देखिएको छ। गएराति र आज बिहान पूर्वी तथा मध्य भेगका केही स्थानमा वर्षा भए पनि अधिकांश क्षेत्रमा गर्मीको असर कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज र भोलि पनि अत्यधिक गर्मी रहने सम्भावना भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन र स्वास्थ्यप्रति सचेत रहन मौसमविद्हरूले सुझाव दिएका छन्।
आज देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
गर्मी अत्यधिक बढेपछि वीरगञ्ज महानगरपालिकाले सबै विद्यालयमा चार दिनका लागि बिदा दिएको छ। तराई–मधेशका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया