Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

डायस्पोराको ज्ञान र सीप नेपालको विकासमा उपयोग गर्ने लक्ष्यका साथ जर्मनीमा दोस्रो ‘नेपाली रूट्स समिट’


काठमाडौं। जर्मनीको म्युनिखमा दोस्रो ‘नेपाली रूट्स समिट–२०२६’ सम्पन्न भएको छ। जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न पेशामा आबद्ध नेपालीहरूबीच सहकार्य विस्तार गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले समिट आयोजना गरिएको हो।

‘नेपाली रूट्स’को आयोजनामा भएको समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपालीको सहभागिता रहेको आयोजकले जनाएको छ। नेपाली मूलका विज्ञ, व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी तथा विभिन्न क्षेत्रका पेशाकर्मीलाई एउटै व्यावसायिक सञ्जालमा आबद्ध गराउने उद्देश्यले स्थापना भएको ‘नेपाली रूट्स’ले ज्ञान आदान–प्रदान, अनुसन्धान, उद्यमशीलता र नेपालसँगको सम्बन्ध सुदृढ बनाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

समिटको अध्यक्षता संस्थाका अध्यक्ष डा. कृतन गौतमले गरेका थिए। कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले नेपाली डायस्पोराको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाल नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण स्रोत भएको बताए।उनले सरकारले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य तथा नवप्रवर्तनका क्षेत्रमा विदेशमा रहेका नेपालीको अनुभव र विशेषज्ञताको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपाली रूट्स र एनआरएनएबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। नयाँ पुस्ताको सोच र आवश्यकतालाई आत्मसात् गर्न यस्ता संस्थाबाट सिक्नुपर्ने उनको भनाइ थियो।

समिटको उद्घाटन सत्रमा नेपाली रूट्सका सचिव जितेन्द्र कसौधनले सहभागीलाई स्वागत गर्दै ‘नेपाली रूट्स जर्नल’ सार्वजनिक गरेका थिए। उनले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूबीच बलियो व्यावसायिक सञ्जाल निर्माण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै नेपालसँग ज्ञान, अनुसन्धान, प्रविधि, लगानी र उद्यमशीलताको सम्बन्ध विस्तार गर्न संस्थाले निरन्तर काम गरिरहेको बताए।

समिटमा नेतृत्व विकास, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा तथा डायस्पोराको नेतृत्वदायी भूमिकालगायत विषयमा विभिन्न सत्र सञ्चालन गरिएको थियो। सहभागी विज्ञहरूले व्यक्तिगत उपलब्धिलाई सामूहिक प्रभावमा रूपान्तरण गर्न व्यावसायिक नेटवर्क, मेन्टरशिप र संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा राखे।छलफलका क्रममा नेपाली डायस्पोराको योगदान वैदेशिक रेमिट्यान्समा मात्र सीमित नरही ज्ञान, अनुसन्धान, प्रविधि हस्तान्तरण, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपाललाई दीर्घकालीन रूपमा योगदान दिन सक्ने निष्कर्ष निकालिएको थियो।

समिटले नेपाल र विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्यका नयाँ अवसर खोज्दै भावी पुस्ताका लागि बलियो र दिगो समुदाय निर्माण गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ। सहभागीहरूले रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता, डायस्पोरा फन्डको प्रभावकारी परिचालन तथा नेपालमा लगानीमैत्री वातावरण निर्माणजस्ता नीतिगत विषयमा सरकारको सक्रिय पहल आवश्यक रहेको धारणा राखेका थिए।

आयोजकले नेपालमा उद्यमशीलता, नवप्रवर्तन र लगानीका क्षेत्रमा डायस्पोराको भूमिका अझ प्रभावकारी बनाउन यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट