मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना, कतै भारी त कतै धेरै भारी वर्षा
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ रहे पनि आगामी दिनमा क्रमशः नेपाल नजिकिने अनुमान गरिएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर मौसम बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान, पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।रातिको समयमा पनि मौसममा खासै सुधार नआउने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। त्यस्तै, मधेश प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रसहित अन्य प्रदेशका पहाडी र तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार आज राति विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलानाला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया