आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी
काठमाडौं । हाल नेपालभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानभन्दा केही दक्षिण र पश्चिमी नेपालमा सरदर स्थानकै आसपासमा रहेको छ।
यसको प्रभावले हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि बदली छ भने हिमाली क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू-भाग र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ।
देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ भने मधेश, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाले आज राति विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। सम्भावित भारी वर्षा, चट्याङ र हावाहुरीका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया