सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
कास्की। कास्कीको पोखरा महानगरपालिका–३३ स्थित २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। परीक्षण सफल भएपछि आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति गर्न थालेको हो।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यो आयोजना विसं २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा आवश्यक परीक्षण सम्पन्न गरेपछि उत्पादित विद्युत् परीक्षणका रूपमा राष्ट्रिय ग्रिडमा जोडिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिए।उनका अनुसार आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ भने आयोजनाका उपकरण तथा समग्र प्रणालीको प्राविधिक परीक्षणसमेत गरिनेछ। परीक्षण सफल भएलगत्तै आयोजना नियमित व्यावसायिक सञ्चालनमा जानेछ।
आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखे पनि प्रसारण लाइन निर्माणका क्रममा वन क्षेत्रको स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा उत्पादन सुरु हुन केही समय पछाडि धकेलिएको हो। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले स्वीकृति प्रक्रिया लम्बिएको निर्देशक बरालले बताए।आयोजनाको बाँध पोखरा महानगरपालिका–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइन्छ। विद्युत्गृहमा ११–११ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिएको छ।
करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यस आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेसँगै आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन गर्ने तयारी पनि गरेको छ।
सेती नदीमा पछिल्ला वर्षहरूमा जलविद्युत् आयोजनामा लगानी बढ्दै गएको छ। यसअघि २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना व्यावसायिक सञ्चालनमा आइसकेको छ भने नदी क्षेत्रमा थप आधा दर्जनभन्दा बढी आयोजना निर्माण तथा प्रारम्भिक विकास चरणमा रहेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया