५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सकियो
काठमाडौं । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्यले उल्लेखनीय गति लिएको छ। आयोजनाको हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति भएको प्रवर्द्धक कम्पनीले जनाएको छ।
अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यो आयोजना गण्डकी प्रदेशको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माण भइरहेको छ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल तीनवटै क्षेत्रका काम समानान्तर रूपमा अघि बढिरहेका छन्।
कम्पनीका अनुसार आयोजनाको इन्टेक र डिसेन्डर क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। निर्माण कार्यलाई तीव्र बनाउन रातिको समयमा समेत कङ्क्रिट ढलान भइरहेको छ। पावरहाउस निर्माणका लागि आवश्यक उत्खनन तथा भू–संरचनालाई स्थिर बनाउने पूर्वाधार निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।
मेकानिकलतर्फ आयोजनाका लागि आवश्यक स्टिल संरचना, गेट र पाइपलगायत हाइड्रो–मेकानिकल उपकरणहरूको फेब्रिकेसन हेटौंडास्थित उत्पादन केन्द्रमा सुरु भइसकेको छ। त्यस्तै, इलेक्ट्रो–मेकानिकल उपकरण निर्माणका लागि युरोप र भारतका अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता भई उत्पादन प्रक्रिया अघि बढाइएको छ। उपकरण तयार भएपछि आयोजना स्थलमा ल्याएर जडान गरिने जनाइएको छ।
करिब ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सुनिश्चित भइसकेको छ। सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सह–वित्तीयकरणमार्फत ऋण लगानी गरेका छन् भने बाँकी रकम स्वपूँजीबाट व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको १३२ केभी उदिपुर सब–स्टेशनमा जोडिनेछ। यसका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) समेत सम्पन्न भइसकेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया