गण्डकीमा रास्वपा : अधिकांश जिल्लामा रोचक प्रतिस्पर्धा, बागलुङ विवादित
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गण्डकी प्रदेशका अधिकांश जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। ११ जिल्लामध्ये ९ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने अधिकांश स्थानमा नेतृत्व चयनका लागि प्रतिस्पर्धात्मक निर्वाचन भएको छ।
रास्वपाको गण्डकी प्रदेशमा सम्पन्न अधिवेशनहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र नेतृत्वका लागि बढ्दो आकांक्षा देखाएको भए पनि केही जिल्लामा प्रक्रिया र परिणामलाई लिएर विवाद समेत सतहमा आएको छ।
बागलुङमा सर्वसम्मत नेतृत्व चयन विवादित
बागलुङमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको घोषणा गरिए पनि उक्त प्रक्रिया विवादमा परेको छ। सभापतिका आकांक्षीहरूलाई सहमतिबाट बाहिर राख्दै एकतर्फी रूपमा नेतृत्व घोषणा गरिएको आरोपसहित पार्टीको निर्वाचन आयोगमा उजुरी परेको छ।
सभापतिका लागि पुनम शर्मा, ढालेन्द्र रायमाझी, खिमानन्द पौडेल र मनोज खड्का आकांक्षी थिए। अन्ततः पुनम शर्माको नेतृत्वमा कार्यसमिति घोषणा भएपछि असन्तुष्ट पक्षले पुनः निर्वाचनको माग गर्दै उजुरी दर्ता गराएको हो।
कास्कीमा एक मतको रोमाञ्चक जित, प्रक्रियामाथि प्रश्न
कास्की जिल्ला अधिवेशनमा यदुनाथ अधिकारी एक मतको अन्तरले सभापतिमा निर्वाचित भए। उनले ११५ मत प्राप्त गर्दा प्रतिस्पर्धी एकराज न्यौपानेले ११४ मत प्राप्त गरेका थिए।
तर निर्वाचनपछि प्रतिनिधि छनोट प्रक्रियामा कार्यविधिविपरीत निर्णय गरिएको आरोप उठेको छ। केही नेताहरूले अतिरिक्त प्रतिनिधि मनोनयन गरिएको दाबी गर्दै निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएका छन्।
म्याग्दीमा सर्वसम्मत नेतृत्व
अन्य जिल्लामा प्रतिस्पर्धा भइरहँदा म्याग्दीमा भने युवराज रोका सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका छन्। सामाजिक क्षेत्रमा सक्रिय रहेका रोका पुनः नेतृत्वमा दोहोरिएका हुन्।
पर्वतमा जलबहादुर पुर्जा पुनः सभापति
पर्वतमा जलबहादुर पुर्जा पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सहमतिको प्रयास असफल भएपछि भएको मतदानमा उनले प्रतिस्पर्धी गंगालाल रिमाललाई पराजित गर्दै नेतृत्व कायम राखेका हुन्।
स्याङ्जामा भण्डारीको फराकिलो जित
स्याङ्जामा रुक्मांगत भण्डारी (विश्वास) भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। उनले २८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी उपेन्द्र अर्यालले २४ मत मात्र प्राप्त गरेका थिए।
तनहुँमा पूर्वकांग्रेस नेता बास्तोला सभापति
तनहुँमा सम्पन्न अधिवेशनबाट नेपाली कांग्रेसका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोला सभापतिमा निर्वाचित भएका छन्। उनले १८७ मत प्राप्त गर्दै प्रतिस्पर्धी डा. शेषरमण न्यौपानेलाई पराजित गरेका हुन्।
गोरखामा सुवर्ण रोकाहा पुनः निर्वाचित
गोरखामा सुवर्ण रोकाहा क्षेत्री पुनः सभापतिमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी ध्रुव अधिकारीलाई पराजित गर्दै उनले दोस्रो कार्यकालका लागि नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।
लमजुङमा सहमतिबाट नेतृत्व चयन
लमजुङमा पहिलो चरणको मतदानबाट कसैले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणअघि सहमति जुटाइएको थियो। त्यसपछि सर्वाधिक मत प्राप्त गरेका अशोक सापकोटालाई सर्वसम्मत रूपमा सभापति चयन गरिएको हो।
नवलपुरमा कडा प्रतिस्पर्धा
नवलपुरमा दोमनबहादुर भण्डारी तीन मतको झिनो अन्तरले सभापतिमा निर्वाचित भएका छन्। उनले १४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गोकुल सापकोटाले १३९ मत प्राप्त गरेका थिए।
लोकतान्त्रिक अभ्यास बलियो भएको दाबी
रास्वपा गण्डकी प्रदेश सभापति तथा सांसद राजन गौतमले अधिकांश जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन हुनु पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेत भएको बताएका छन्।
उनका अनुसार नेतृत्वका लागि आकांक्षीको संख्या बढ्नु र प्रतिनिधिहरूले मतदानमार्फत आफ्नो नेता छनोट गर्नु पार्टीको संगठन विस्तार र संस्थागत विकासका लागि महत्वपूर्ण अभ्यास हो।
गण्डकी प्रदेशमा सम्पन्न अधिवेशनहरूले रास्वपाभित्र नेतृत्वका लागि प्रतिस्पर्धा बढेको संकेत गरेका छन् भने केही जिल्लामा देखिएका विवादले संगठनात्मक व्यवस्थापन र निर्वाचन प्रक्रियाको पारदर्शितामाथि पनि प्रश्न उठाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया