लुम्बिनीका ११ जिल्लामा रास्वपाको नयाँ नेतृत्व
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्रता दिँदै लुम्बिनी प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ।
पार्टीको सांगठनिक संरचनालाई तल्लो तहसम्म व्यवस्थित र वैधानिक बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनमार्फत ११ जिल्लामा नयाँ जिल्ला सभापतिहरू चयन भएका हुन्। रास्वपाले लोकतान्त्रिक प्रतिस्पर्धा र सहमतिका आधारमा नेतृत्व चयन गर्दै नयाँ पुस्ता, महिला तथा पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई जिम्मेवारी दिएको जनाएको छ।
रास्वपाको सार्वजनिक विवरणअनुसार दाङ जिल्ला सभापतिमा किरण खनाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा डा. रवि पाण्डे निर्वाचित भएका छन्।
त्यस्तै अर्घाखाँचीको नेतृत्व सीता पराजुली ले सम्हालेकी छन् भने रुपन्देही जिल्ला सभापतिमा महेन्द्र प्रसाद उपाध्याय चयन भएका छन्। रोल्पामा बालाराम थापा र कपिलवस्तुमा शिव सुवेदी ले नेतृत्वको जिम्मेवारी पाएका छन्।
यसैगरी गुल्मीमा हरि श्रेष्ठ, बाँकेमा विवेक श्रेष्ठ र बर्दियामा शान्ता बुढा क्षेत्री निर्वाचित भएका छन्। पाल्पा जिल्ला सभापतिमा विष्णु भण्डारी तथा प्युठानको नेतृत्व विकास पोख्रेल ले सम्हाल्ने भएका छन्।
जिल्ला तहका अधिवेशनहरू सम्पन्न भएसँगै लुम्बिनी प्रदेशमा पार्टीको संगठनात्मक आधार थप मजबुत भएको र आगामी दिनमा राजनीतिक गतिविधि अझ सक्रिय हुने संकेत देखिएको छ। पार्टीले नवनिर्वाचित नेतृत्वलाई पालिका तथा वडा तहसम्म संगठन विस्तार र सुदृढीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको जनाएको छ।
महिला, युवा तथा विभिन्न पेशागत क्षेत्रबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागितासहित चयन भएको नयाँ नेतृत्वले पार्टीलाई जनस्तरसम्म थप विस्तार गर्न सहयोग पुग्ने विश्वास रास्वपाले व्यक्त गरेको छ। साथै, आगामी निर्वाचनहरूलाई लक्षित गर्दै स्थानीय संरचनालाई पूर्णता दिने काम पनि अब प्राथमिकतामा रहने बताइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया