झुटा आरोपबारे मरिण गाउँपालिका अध्यक्षलाई मिडियाको चुनौती
सिन्धुली । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले आफूहरूमाथि लगाएको बार्गेनिङको आरोपप्रति ‘सिन्धुली सौगात’ले आपत्ति जनाएको छ। स्वतन्त्र र यथार्थ समाचार प्रकाशन गर्दा असन्तुष्ट भई अध्यक्ष मोक्तानले एक स्थानीय मिडियामार्फत यस्तो आरोप लगाएको मिडियाको दाबी छ।
मिडियाले सार्वजनिक रूपमा प्रश्न उठाउँदै आफूहरूले कहिले, कहाँ र कसरी बार्गेनिङ गरेको हो भन्ने प्रमाण पेश गर्न अध्यक्षसँग माग गरेको छ। यदि आरोप पुष्टि गर्न नसकिएमा वा सार्वजनिक रूपमा माफी नमागिएमा क्षतिपूर्तिसहित मानहानीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ।
समाचार संस्थाले पालिकासँग विज्ञापनसम्बन्धी छलफल भएको स्वीकार गरेको छ। तर, विज्ञापन भुक्तानीबाट पन्छिन आलोचनात्मक समाचार रोक्ने प्रस्ताव आएको र आफूहरूले त्यसलाई अस्वीकार गरेको स्पष्ट पारेको छ।
यसैबीच, अध्यक्ष मोक्तानले मरिणमा चिनियाँ भैंसीको मासु परियोजना आफैंले ल्याएको दाबी गरेको विषयलाई मिडियाले “हास्यास्पद” भनेको छ। यस्ता अभिव्यक्तिले उनको विश्वसनीयतामाथि प्रश्न उठ्ने उल्लेख गरिएको छ।
साथै, चिनियाँ कम्पनीलाई जग्गा उपलब्ध गराउँदा सम्भावित राजस्व अनियमितता, ऐलानी जग्गा वितरणमा अपारदर्शिता तथा बालुवा–गिट्टी कारोबारमा देखिएका समस्याबारे स्वतन्त्र छानबिनको माग पनि पत्रिकाले दोहोर्याएको छ।
उक्त परियोजना नेपाल सरकारको आर्थिक उन्नतिसँग जोडिएको र सिन्धुली जिल्लाकै गौरवको विषय भएको उल्लेख गर्दै सीमित स्वार्थका कारण यसलाई प्रभावित पार्ने प्रयासप्रति सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरिएको छ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया