Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

पक्राउको हल्ला निराधार  : शेखर गोल्छा


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् ।

सामाजिक सञ्जाल, फेसबुक, ट्वीटरसँगै केही सञ्चारमाध्ययमहरूमा समेत समाचार आउन थालेपछि व्यवसायी गोल्छाले नै हल्लाप्रति आपत्ति जनाएका हुन् । गोल्छाले भने ‘म पक्राउ परेको छैन, आफ्नै कार्यालयमै छु । पक्राउ परेको हल्ला निराधार हो ।’

धितोपत्रको मूल्य कृत्रिम रूपमा हेरफेर गरेको आरोपमा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवालको कारोबारमा गोल्छामाथि पनि अनुसन्धानको सुइ सोझिएको छ । नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनले भट्ट नेतृत्वको समूहले योजनाबद्ध रूपमा शेयर मूल्य बढाएको निष्कर्ष निकालेको छ ।

अनुसन्धानअनुसार भट्ट र उनका साझेदारहरूले आवश्यक रकम जम्मा नगरी कारोबार गर्नुका साथै ग्राहकको धितो दुरुपयोग गरेका थिए । विभिन्न कम्पनीहरूको नेटवर्क प्रयोग गरी बजार हेरफेर गरिएको र विशेष गरी हिमालयन रिइन्स्योरेन्सलगायत संस्थासँग सम्बन्धित कारोबारमा मिलेमतो देखिएको उल्लेख छ । प्रतिवेदनमा एउटै इन्टरनेट ठेगानाबाट विभिन्न कम्पनीका खातामार्फत कारोबार गरिएको जनाइएको छ । यसले एउटै समूहले अनेक खातामार्फत बजारमा कृत्रिम माग सिर्जना गरेको संकेत गर्दछ । भृकुटी स्टक ब्रोकरमार्फत अग्रिम रकम नतिरी ठूलो परिमाणमा शेयर खरिद गरिएको पनि भेटिएको छ ।

भट्ट समूहले ‘सर्कुलर ट्रेडिङ’मार्फत आफ्नै कम्पनीहरूको शेयर मूल्य बढाएको आरोप छ । यसरी उच्च मूल्यमा आपसी किनबेच गरी बजारमा भ्रम सिर्जना गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त गतिविधिलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर उल्लंघन ठहर गर्दै कारबाहीका लागि प्रहरीमा सिफारिस गरेको छ । प्रतिवेदनमा भट्ट, सुलभ अग्रवालसहित अन्य संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाउन भनिएको छ । साथै गोल्छासहित केही संस्था र व्यक्तिहरूले कसूरमा सहयोग गरेको टिप्पणी गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट