एसईई उत्तीर्णको उमेर, नाम र थर फरक परेमा के गर्ने ?
काठमाडौं । एसईईको नतिजा आउँदा कतिपय परीक्षार्थीको नाम, थर वा जन्म मिति फरक पर्ने समस्या देखिन्छ । यस्तो अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले दुई वटा विकल्प दिएको छ ।
पहिलो विकल्पमा यदि नतिजामा मात्र विवरण फरक परेको हो तर प्रवेश पत्रमा सही छ भने बोर्डको साबिककै व्यवस्थाअनुसार प्रवेश पत्रका आधारमा विवरण सच्याउन सकिनेछ ।
दोस्रोमा यदि प्रवेश पत्रमै नाम, थर वा जन्म मिति गलत छ भने त्यसलाई सच्याउन नतिजा प्रकाशन भएको ५ (पाँच) वर्षभित्र आवेदन दिइसक्नुपर्नेछ । यस्तो अवस्थामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को फैसला पर्चा अनिवार्य चाहिने बोर्डले जनाएको छ ।
सीडीओ कार्यालयबाट विवरण सच्याउने निर्णय गराएपछि सोही फैसलाका आधारमा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएर आफ्नो विवरण सच्याउन सकिने बोर्डले जनाएको छ ।
यस्तै, प्राविधिक कारणले कतै त्रुटि देखिएमा बोर्डको मूल अभिलेखबाट रुजु गरी सच्याइने विज्ञप्तिमा उल्लेख छ । नतिजा नखुलेको अवस्थामा वा अन्य प्राविधिक समस्या भएमा विद्यार्थीले प्रवेश पत्रको प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय एकाइ वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया