Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

असार १४–१५ मा कम्युनिस्टकाे वैचारिक टक्कर : एकातिर `जबज´को र अर्कोतिर ‘वैज्ञानिक समाजवाद’


काठमाडौं । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा असार १४ गते जनताको बहुदलीय जनवाद (जबज) केन्द्रित कार्यक्रम भएकाे भोलिपल्ट, असार १५ गते नेपाली कम्युनिस्ट आन्दोलनमा अर्को महत्वपूर्ण वैचारिक बहसको मञ्च तयार हुँदैछ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मजयन्तीको सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालद्वारा लिखित ‘बहुदलीय जनवाद कि वैज्ञानिक समाजवाद ?’ पुस्तकको विमोचन हुन लागेको हो ।

असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका अवसरमा जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीको पहलममा वाम नेताहरूकाे जमघट हुँदैछ ।

त्यसको भोलिपल्ट हुन लागेको यो पुस्तक विमोचनलाई कम्युनिस्ट आन्दोलनभित्र दुई फरक वैचारिक धारबीचको प्रत्यक्ष बहसका रूपमा हेरिएको छ ।
झलनाथ खनालले यसअघि पनि जनताको बहुदलीय जनवाद समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त हुन नसक्ने धारणा सार्वजनिक गर्दै नेपाल अब वैज्ञानिक समाजवादको कार्यदिशामा अघि बढ्नुपर्ने तर्क राख्दै आएका छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा जबजलाई पुँजीवादी जनवादी कार्यक्रमका रूपमा व्याख्या गर्दै आलोचना गर्ने गरेका छन् ।

यही पृष्ठभूमिमा पुष्पलालको जन्मजयन्तीका अवसरमा हुने पुस्तक विमोचनलाई नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक दिशा, समाजवादको मार्ग र जबजको सान्दर्भिकताबारे नयाँ बहसलाई अझ तीव्र बनाउने घटनाका रूपमा हेरिएको छ ।
राजनीतिक वृत्तमा यो कार्यक्रमलाई सामान्य पुस्तक विमोचन मात्र नभई कम्युनिस्ट आन्दोलनको भावी वैचारिक मार्ग निर्धारणसँग जोडिएको महत्वपूर्ण हस्तक्षेपका रूपमा विश्लेषण गर्न थालिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट