विराटनगरमा कांग्रेस नेता गिरी गिरफ्तार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। कैदीबन्दीको भत्ता तथा श्रमबाट आर्जित रकम हिनामिना गरेको आरोपमा उनलाई शनिबार बिहान विराटनगर–८ मधुमारास्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको घर तथा घरअगाडि पार्किङ गरिएका दुईवटा सवारीसाधनको समेत खानतलासी गरेको थियो। प्रहरीले घर वा गाडीबाट कुनै शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि गिरीलाई नियन्त्रणमा लिइएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार, गिरीमाथि मोरङ कारागारका कैदीबन्दीलाई उपलब्ध गराइने दैनिक भत्ता, जाडो–गर्मीका लागि प्रदान गरिने भत्ता तथा श्रमबाट आर्जित रकम असुली गरेको आरोप लागेको छ।मोरङ कारागारमा हाल १ हजार १ सय ९९ जना कैदीबन्दी रहेका छन्। उनीहरूलाई सरकारले दैनिक भत्ता उपलब्ध गराउँदै आएको छ। कारागारभित्र कैदीबन्दीले मुडा तथा गलैँचा बुन्नेजस्ता श्रममूलक कार्यसमेत गर्दै आएका छन्।
प्रहरीका अनुसार, ती सामग्री बिक्रीबाट प्राप्त हुने रकम र अन्य भत्तासमेत कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा गिरीले लिएको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको हो।अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार कैदीबन्दीको रकम विभिन्न माध्यमबाट गिरीको खातासम्म पुगेको हुनसक्ने प्रारम्भिक सूचनाका आधारमा बैंकिङ कारोबार तथा अन्य प्रमाणहरू संकलन र विश्लेषण गर्ने काम भइरहेको छ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र तथ्यका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन्।प्रहरीका अनुसार, गिरी यसअघि पनि विभिन्न मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन्। कारागारबाट छुटेपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।
यद्यपि, उनीमाथि लगाइएका आरोपहरू अनुसन्धानको क्रममा रहेका कारण अदालतबाट दोषी प्रमाणित नभएसम्म उनलाई निर्दोष मानिने कानुनी व्यवस्था रहेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया