आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आजबाट सुरु भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो।
उच्च शिक्षामा गुणस्तरीय सुधार, संस्थागत सुदृढीकरण तथा सक्षम र दूरदर्शी नेतृत्व चयन गर्ने उद्देश्यका साथ उपकुलपति छनोट प्रक्रिया अघि बढाइएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता र विश्वसनीयतालाई प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। मूल्याङ्कनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ समूहको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
निर्धारित तालिकाअनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण क्रमशः भोलि र पर्सि सञ्चालन हुने छ। यससँगै आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया तोकिएको समयसीमाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
सरकारले पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार एकीकृत प्रणालीमार्फत उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाएको हो। यसलाई उच्च शिक्षा क्षेत्रमा सुशासन र पारदर्शिता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो। छनोट तथा सिफारिस समितिले जेठ १३ गते बसेको बैठकबाट प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य उम्मेदवारहरूको सूची स्वीकृत गरेको थियो।
त्यसपछि अध्ययन तथा मूल्याङ्कनका आधारमा तयार गरिएको सर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रिया सुरु गरिएको हो। विज्ञहरूबाट प्राप्त अंकका आधारमा सिफारिस समितिले उपकुलपतिका लागि नाम छनोट गरी कुलपतिसमक्ष सिफारिस गर्ने व्यवस्था रहेको छ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका थिए। उक्त समितिअन्तर्गत विज्ञहरूको उपसमितिले मूल्याङ्कन गरी सर्टलिस्ट तयार गरेको मन्त्रालयले जनाएको छ।
यस प्रक्रियाबाट विश्वविद्यालयहरूमा योग्य, सक्षम र परिणाममुखी नेतृत्व चयन भई उच्च शिक्षा क्षेत्रमा संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टताले नयाँ गति लिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया