Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

ओलीले भने- हामी मरेका छैनौं, धुलो टक्टक्याएर फेरि उठ्छौं


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध सक्रिय प्रतिक्रियावादी शक्तिहरूलाई आफूहरूले परास्त गर्ने दाबी गरेका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर नठान्न चेतावनी दिएका हुन्।

‘हामी मरेका छैनौं, बरु धुलो टक्टक्याउँदै फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गरेरै छाड्छौं,’ ओलीले भने, ‘हामी अग्रगामी परिवर्तनको मार्गमा दृढताका साथ अघि बढ्नेछौं।’

कार्यक्रममा उनले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाए। संसद् विघटन गरी चुनावमा जाने निर्णयलाई स्मरण गर्दै उनले त्यतिबेला आफूहरूले चुनाव रोक्न खोज्दा अन्य दलहरूले त्यसलाई गलत बुझेको टिप्पणी गरे।

‘चुनावका बेला हामीले जे भनेका थियौं, त्यो हाम्रा लागि भिर भए पनि अरूका लागि हाइवे जस्तो भएको थियो। तर, त्यो चुनाव बामपन्थी र लोकतान्त्रिक शक्तिहरूका लागि थिएन, जसको परिणाम पहिल्यै सुनिश्चित भइसकेको थियो,’ उनले भने। उनले मुलुकमा अहिले पनि प्रतिगमनको सिलसिला कायमै रहेको आरोप लगाए।

ओलीले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताए। ‘उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो,’ उनले भने।

ओलीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे।

‘त्यस्तो अवस्थामा हामीले जनताको बहुदलीय जनवादको प्रकाशमा एउटा बाटो लियौँ,’ उनले भने।

उनले एमालेका नीति सही रहेको दाबी गर्दै पार्टी कुनै विचार वा नीति परिवर्तन गर्न एकता–एकीकरणको छलफलमा नरहेको बताए।उनले भने,‘हाम्रा नीतिहरू बिल्कुल सही छन्। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा सही नीति निर्धारण गरेका छौं ।’

ओलीले एमालेको गन्तव्य ’समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गर्दै त्यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा व्याख्या गरे। ‘हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो। समाजवाद भनेको यही हो,’ उनले बताए।उनले वर्तमान सरकार प्रतिगमनको उपज भएको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाइएको दाबी गरे।

ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप पनि लगाए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट