चुरोटबिँडीको असर पुरुषभन्दा महिलामा बढी
उत्तिकै मात्रामा चुरोटबिँडी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरुषको तुलनामा महिलामा निकै बढी रहने गरेको अध्ययनहरूले देखाएका छन् । अमेरिकाको वेइल कर्नेल मेडिकल कलेज, बेलायतको युके बायोब्याङ्क र स्विडेनको जीएटू एलइएनका अध्ययनसहित विभिन्न बृहत् अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन् ।
अध्ययनहरूका अनुसार चुरोटबिँडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरुषको तुलनामा झन्डै तीन गुणासम्म बढी रहन्छ । २४ लाखभन्दा बढी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरुषभन्दा २५ प्रतिशत बढी हुन्छ ।
वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरुषको तुलनामा बढी मात्रामा क्यान्सरजन्य पदार्थ सोस्ने गर्दछ । साथै डीएनएमा हुने क्षति पनि महिलामा बढी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजोनिवृत्ति जस्ता समस्या महिलालाई मात्र निम्त्याउँछ । यसैले चुरोटबिँडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढी सचेत हुनुपर्ने स्वास्थ्यविद्हरूले सचेत गराएका छन् । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२५ को तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको २५ प्रतिशत सुर्तीजन्य पदार्थसँग जोडिएको छ ।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया