Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

महाधिवेशनपछि यस्तो बन्यो रास्वपाको केन्द्रीय ‘कमान्ड’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको चार वर्षमा प्रथम महाधिवेशन सम्पन्न गरेको छ । संस्थापक सभापति रवि लामिछानेलाई सर्वसम्मत नेतृत्व सुम्पदै रास्वपाको महाधिवेशनले ताजा ‘म्यान्डेट’ प्रदान गरेको हो ।

सभापति लामिछाने सर्वसम्मत हुँदा खुलातर्फ उपसभापतिमा डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भए । केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएका डा. वाग्ले पदाधिकारी चुनावमा प्रतिस्पर्धीविहीन बनेका हुन् । पहिले उपसभापति उमेदवार बन्ने बताउँदै आएका नेता विराजभक्त श्रेष्ठ नै प्रस्तावक बसेपछि यसअघिका उपसभापति वाग्ले निर्विरोध भए ।

वाग्ले नेपाली कांग्रेस परित्याग गर्दै ०७९ चैतमा उपचुनावको मुखमा रास्वपा प्रवेश गरेका थिए । प्रवेशलगत्तै तनहुँ–१ बाट निर्वाचित हुँदै डा। वाग्ले संसद् प्रवेश गरेका थिए । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको थियो ।

महिलातर्फ उपसभापतिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम निर्वाचित भइन् । गौतम अर्की संस्थापक नेतृ तथा सांसद डा। तोसिमा कार्कीलाई पछि पार्दै उपसभापति निर्वाचित भएकी हुन् । गौतम र कार्की ०७९ र ०८३ दुवै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

खुला महामन्त्रीमा रास्वपाका संस्थापकमध्येका नेता विपीन आचार्य निर्वाचित भएका छन् । यसअघि सहमहामन्त्री रहेका आचार्यले निवर्तमान प्रवक्ता मनिष झालाई पछि पार्दै महामन्त्री निर्वाचित भएका हुन् । उनलाई महामन्त्रीमा उमेदवारी दर्ता गरेका कविन्द्र बुर्लाकोटी, गणेश पराजुलीसहितका संस्थापक नेता तथा विवेकशील पार्टीबाट आएकी रञ्जु दर्शना र प्रमोद न्यौपानेले उमेदवारी फिर्ता लिएर समर्थन गरेका थिए । संस्थापकलाई जिताउने अभियानमा नेताहरू जुटेपछि झा पारजित हुन पुगेका हुन् ।

सहमहामन्त्रीमा खुल्लातर्फ संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिसमेत रहेका सांसद हरि ढकाल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह निर्वाचित भएका छन् । ढकाल ०७९ को निर्वाचनमा र यसपटक चितवन–१ बाट निर्वाचित सांसद हुन् । शाह ०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थिए । रवि–बालेन एकतामा उनले संयोजनकर्ताको भूमिका खेलेका थिए ।

महिलातर्फबाट ०७९ मा समानुपातिक र यसपटक प्रत्यक्ष तर्फबाट निर्वाचित सांसद समेत रहेकी निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएकी छन् । डाँगी सांसद रिमा विश्वकर्मालाई पछि पार्दै निर्वाचित भएकी हुन् । रिमा रास्वपाको समानुपातिकर्तबाट सांसद छिन् । डाँगी भने झापा–१ बाट निर्वाचित भएकी हुन् ।

अब एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता सभापति लामिछानेले नियुक्त गर्नेछन् । वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन शाह (बालेन) नियुक्त हुने पक्का छ । नियुक्त हुने अन्य पदाधिकारीको टुंगो लागिसकेको छैन ।

रास्वपाको पदाधिकारी निर्वाचनमा चार हजार ३११ मध्ये एक हजार २८९ ले मात्र भाग लिएका थिए । सभापति रवि लामिछाने चितवनमै भएर पनि पदाधिकारी निर्वाचनको मतदानमा सहभागी भएनन् । प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता शाह केन्द्रीय सदस्य चुनावमै भाग नलिई काठमाडौं फर्किएका थिए । विद्युतीय मेसिनबाट मतदान भएको थियो ।

यसअघि केन्द्रीय सदस्यको चुनावमा दुई हजार ९५९ जनाले मतदानमा भाग लिएका थिए । धेरै प्रतिनिधिहरू पदाधिकारीमा सबैले मत हाल्ने हो भन्ने जानकारी अभावमा फर्किएको पाइएको छ । त्यसरी नै फर्किएका रौतहटका प्रतिनिधिहरू साँझ ५ बजेपछि मतदानस्थलमा पुग्दा भोट हाल्न पाएनन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट