सामसङले एआईमा ६ खर्ब ५० अर्ब डलर लगानी गर्ने
कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।
सामसङले आउँदो हप्ता झन्डै ६ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
यो लगानी योजना राष्ट्रपति ली जे म्युङको राजधानी सियोलबाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोडिएको छ । आउँदो सोमवार आयोजना हुने ‘नेशनल मेगा प्रोजेक्ट’ कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ ।
प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना रहेको छ । दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता (एआई) मा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन् ।
डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ्दै गएपछि सेमिकन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ । एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसङको प्रस्तावित प्याकेजअन्तर्गत दक्षिणपश्चिमी दक्षिण कोरियामा नयाँ सेमिकन्डक्टर कम्प्लेक्स निर्माणका लागि झन्डै १ खर्ब ९५ अर्ब डलर लगानी हुनेछ ।
माइल बिजनेस न्युजपेपरका अनुसार योङ्गिनमा ६ वटा चिप उत्पादन केन्द्र निर्माणका लागि झन्डै ३९ अर्ब डलर तथा डाटा सेन्टर र एआई पूर्वाधार विकासका लागि झन्डै २ खर्ब २७ अर्ब डलर लगानी गर्ने योजना रहेको छ । प्रस्तावित १० वर्षे खर्च योजना दक्षिण कोरियाको कुनै पनि निजी कम्पनीले सार्वजनिक गरेको सबैभन्दा ठूलो लगानी प्रतिबद्धता बन्नेछ ।
राष्ट्रपति लीले यसै हप्ता सामसङका अध्यक्ष ली जे–योङसँग भेट गरी सेमिकन्डक्टर उद्योगमा लगानी विस्तारबारे छलफल गरेका थिए । उनले गएको हप्ता एसके समूहका अध्यक्ष चे ताए–विनसँग पनि भेटवार्ता गरेका थिए ।
सामसङ इलेक्ट्रोनिक्सले गएको वर्ष २८ अर्ब डलर नाफा कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको नाफा आउँदा वर्षहरूमा अझ तीव्र रूपमा बढ्ने अनुमान छ ।
विश्लेषकहरूका अनुसार यस वर्ष कम्पनीको सञ्चालन नाफा १ खर्ब ९५ अर्ब डलर नाघ्न सक्ने अनुमान छ भने आउँदो वर्ष यो बढेर ३ खर्ब ५७ अर्ब डलरसम्म पुग्न सक्छ ।
एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला दक्षिण कोरियाले सेमिकन्डक्टर र एआई क्षेत्रमा आफ्नो नेतृत्व कायम राख्न अभूतपूर्व लगानीको बाटो रोजेको छ ।
क्याटेगोरी : अर्थ, समाचार













प्रतिक्रिया