समृद्धि र पोखरा फाइनान्सको एकीकृत कारोबार असार २६ देखि, एक दिन बैंकिङ सेवा बन्द
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् ।
एकीकृत कारोबारका लागि डाटा माइग्रेसनलगायत प्राविधिक कार्य गर्नुपर्ने भएकाले असार २५ गते एक दिनका लागि दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सबै शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ । मर्जरपछि समृद्धि फाइनान्सको अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य सम्भावित दायित्व पोखरा फाइनान्सले व्यहोर्नेछ । दुवै संस्था १:१ सेयर स्वाप अनुपातमा गाभिने भएकाले दुवै कम्पनीका सेयरधनीले समान अनुपातमा सेयर प्राप्त गर्नेछन् ।
मर्जरपश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ । मर्जपछि सात सदस्यीय सञ्चालक समिति गठन हुनेछ । समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन् ।
हालका अध्यक्ष अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्ने स्रोतको भनाइ छ । यस्तै, मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहनेछ ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया