अस्ट्रेलियाले इन्धन अन्तःशुल्क छुट अवधि थप एक महिना बढायो
अस्ट्रेलियाली सरकारले इन्धनमा लागू गर्दै आएको अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिज ले आइतबार जारी गरेको वक्तव्यअनुसार आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहनेछ। यस अवधिमा हाल लागू ३२ सेन्टको छुट घटाएर आधा कायम गरिनेछ भने अगस्ट २ पछि पूर्ण अन्तःशुल्क दर प्रतिलिटर ५२.६ सेन्ट पुनः लागू गरिनेछ।
सरकारले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्ति प्रभावित भई इन्धन मूल्य बढेकाले नागरिकलाई राहत दिन यो कदम निरन्तरता दिइएको जनाएको छ। यसअघि गत अप्रिल १ देखि तीन महिनाका लागि प्रतिलिटर २६.३ सेन्ट अन्तःशुल्क कटौती लागू गरिएको थियो।
उक्त योजनाअन्तर्गत राज्य तथा क्षेत्रीय सरकारहरूले समेत थप ५.७ सेन्ट प्रतिलिटर बराबरको छुट प्रदान गर्ने सहमति गरेका थिए।
प्रधानमन्त्री अल्बानिज, अर्थमन्त्री जिम चाल्मर्स, ऊर्जा मन्त्री क्रिस बोवेन तथा यातायात मन्त्री क्याथरिन किङद्वारा जारी संयुक्त वक्तव्यमा इन्धन अन्तःशुल्क कटौती क्रमिक रूपमा फिर्ता गर्दा बढ्दो जीवनयापन लागतको दबाबमा परेका नागरिकलाई राहत पुग्ने उल्लेख गरिएको छ।
वक्तव्यमा आर्थिक तथा इन्धन बजारको स्थायित्व पुनःस्थापित हुन केही समय लाग्ने भएकाले छुट अवधि विस्तार गरिएको स्पष्ट गरिएको छ। पछिल्ला दिनमा पेट्रोलियम मूल्य केही घटे पनि सर्वसाधारण अझै आर्थिक दबाबमै रहेको सरकारले स्वीकार गरेको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया