Techie IT
KTM Post
आईतबार, ७ असार, २०८३

रास्वपाको लक्ष्य सरकार फेर्नु मात्र होइन, राजनीतिक संस्कार परिवर्तन गर्नु हो : स्वर्णिम वाग्ले


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको राजनीतिक उद्देश्य केवल सरकार परिवर्तन नभई नेपालको राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशन तथा पार्टीको चौथो स्थापना दिवसका अवसरमा चितवनमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र परिवर्तनको आकांक्षाको राजनीतिक अभिव्यक्ति भएको बताए।

उनले विगतका आन्दोलनहरूले लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षित रूपमा विकास हुन नसकेको उल्लेख गरे। ‘निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो। संविधान बन्यो, संस्थाहरू बलिया भएनन्। राज्यको आकार विस्तार भयो, तर क्षमता बढेन,’ उनले भने।

नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई ‘गलत प्रोत्साहन संरचना’ रहेको दाबी गर्दै वाग्लेले इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली अन्त्य गर्नुपर्नेमा जोड दिए।

उनले रास्वपा विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी तथा नागरिक केन्द्रित लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारे। ‘हामी कसैलाई हराउनभन्दा नेपाललाई जिताउन आएका हौँ। पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ,’ उनले भने।

वाग्लेले रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भइरहेको उल्लेख गर्दै नयाँ पुस्ताले प्रश्न मात्र नभई उत्तर र परिणाम पनि दिन सक्ने प्रमाणित गर्नुपर्ने बताए।

उनले रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना अघि सारेको उल्लेख गर्दै युवाले अवसरका लागि विदेशिन नपर्ने, किसान–श्रमिकले सम्मानजनक जीवनयापन गर्न सक्ने र उद्यमीले निर्भय भएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भको रूपमा व्याख्या गर्दै उनले निराशालाई आशामा, आक्रोशलाई निर्माणमा तथा विद्रोहलाई रूपान्तरणमा बदल्न सबैलाई आह्वान गरे।

‘यो निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ र बरालिएको राजनीतिबाट खुला, सक्षम तथा परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हो,’ उनले भने।

उनले चितवनबाट सुरु भएको यो यात्रा नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट