Techie IT
KTM Post
आईतबार, ७ असार, २०८३

इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा


प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधि स्विट्जरल्यान्डमा रहेका छन् । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका विदेशमन्त्री अब्बास अराग्ची र सभामुख मोहम्मद बगर गालिबाफसहितको टोली स्विट्जरल्यान्डमा रहेको बीबीसीले जनाएको छ ।

प्रत्यक्ष वार्ता केहीबेरमा हुनेछ । इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच चलिरहेको द्वन्द्वलाई स्विट्जरल्यान्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ ।

इरानको सरकारी समाचार संस्था ‘इर्ना’ ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घ गरिरहेकाले त्यो विषय वार्ताको प्रमुख एजेन्डा हुने बताए ।

उहाँका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय, इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

इरान र अमेरिकाबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो । आज हुने वार्ता अमेरिका र इरानबीच युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न महत्त्वपूर्ण हुने अपेक्षा छ ।

वार्ताको शुरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उहाँको कार्यालयलाई उद्धृत गर्दै बीबीसीलाई जनाएको छ । पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताका रूपमा काम गरेको थियो । यसअघिको सहमति विपरीत युद्धविराम शुरूमै कमजोर भएको छ ।

इरानले लेबनानमा हिज्बुल्लाहमाथि भएको इजरायली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै स्ट्रेट अफ हर्मुज बन्द गरेको घोषणा गरेको छ । यो युद्ध अन्त्य गर्न इरानले अमेरिकासँग गरेको सम्झौताको उल्लङ्घन हो ।

हिजबुल्लाहले अमेरिका–इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ । तर अमेरिकी सेनाले त्यो दाबीको खण्डन गरेको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट