Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

वीपी राजमार्गमा यातायात आवागमन पूर्णरुपमा अबरुद्ध


काभ्रे । वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको छ। अहिले यस क्षेत्रको राजमार्गमा यातायात आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ।

शनिबार दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराएको थियो। जिल्ला प्रहरी कार्यालय धुलिखेलले राजमार्गन्गर्तत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो।

वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए। उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ।

वर्षाका कारण रोशी खोलामा पानीको वहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो। गतसालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट