कान्समा अवार्ड जितेको फिल्म ‘एलिफेन्टस् इन द फग’ अब नेपालमा रिलिज हुने
काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल नेपाली फिल्म ‘एलिफेन्टस् इन द फग’ अब नेपाली दर्शकमाझ आउने भएको छ। ‘तिनीहरू’ नाम दिइएको उक्त फिल्म आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
निर्देशक अविनाश विक्रम शाहको निर्देशनमा बनेको यस फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको छ। कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ विधामा प्रदर्शन भएको फिल्मले जुरी अवार्ड जित्दै कान्समा सम्मानित हुने पहिलो नेपाली फिचर फिल्मको कीर्तिमान कायम गरेको थियो।
फिल्मको निर्माण नेपाल, फ्रान्स र जर्मनीका निर्माण कम्पनीहरूको सहकार्यमा गरिएको हो। अन्तर्राष्ट्रिय सहनिर्माणमा बनेको यस फिल्मले नेपाली सिनेमालाई विश्वस्तरमा नयाँ पहिचान दिलाएको निर्माण पक्षको विश्वास छ।फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, आकांक्षा कार्की, माओत्से गुरुङ, दुरा सञ्जय गुप्ता, अलिज घिमिरे र आशान्त शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।
‘तिनीहरू’ ले तराई क्षेत्रका जंगल आसपास बसोबास गर्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको जीवनकथालाई केन्द्रमा राखेको छ। फिल्ममा उनीहरूको पहिचान, प्रेम, अस्तित्व र सामाजिक संघर्षका विविध आयामलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको बताइएको छ।अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुलिसकेको यो फिल्मले नेपाली दर्शकमाझ कस्तो प्रभाव छोड्छ भन्ने प्रतीक्षा गरिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया