Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

होर्मुज जलडमरूमध्यमा फेरि तनाव, अमेरिकी हवाई आक्रमणपछि इरानको जवाफी कारबाहीको दाबी


काठमाडौं । मध्यपूर्वको रणनीतिक समुद्री मार्ग होर्मुज जलडमरूमध्य फेरि तनावको केन्द्र बनेको छ। अमेरिकाले इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेलगत्तै इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य ठेगानामाथि जवाफी आक्रमण गरेको दाबी गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले जारी गरेको वक्तव्यअनुसार खाडी क्षेत्रमा तैनाथ अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरिएको हो। अमेरिकाले इरानी तटीय क्षेत्रमा गरेको हवाई आक्रमणलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताको उल्लङ्घन भएको भन्दै IRGC ले पुनः यस्ता गतिविधि दोहोरिए अझ कडा र व्यापक प्रतिक्रिया दिने चेतावनी दिएको छ।

यसअघि होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक मालवाहक जहाजमाथि भएको आक्रमणपछि अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) ले इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र तटीय रडार प्रणालीलाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको थियो। CENTCOM का अनुसार व्यावसायिक जहाजमाथिको आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन भएकाले त्यसको जवाफस्वरूप सैन्य कारबाही गरिएको हो।

उता इरानको संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै अमेरिका वार्ता र युद्धविरामप्रति प्रतिबद्ध नरहेको आरोप लगाए। उनले अमेरिकी कदमलाई गैरजिम्मेवारपूर्ण भन्दै त्यसको परिणाम अमेरिकाले नै भोग्नुपर्ने चेतावनी दिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने मालवाहक जहाजमाथिको आक्रमणलाई युद्धविरामको “मूर्खतापूर्ण उल्लङ्घन” भएको बताएका छन्। उपराष्ट्रपति जेडी भान्सले पनि अमेरिकाले आवश्यक जवाफ दिने उल्लेख गर्दै इरानसँग कुनै असन्तुष्टि भए प्रत्यक्ष वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन्।

यसैबीच, इरानले होर्मुज जलडमरूमध्यको जलमार्ग व्यवस्थापनमा आफ्नो वैधानिक अधिकार रहेको दाबी दोहोर्याएको छ। साथै, खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकाको पक्षमा उभिन नदिन चेतावनी दिँदै यस रणनीतिक समुद्री मार्गसँग सम्बन्धित कुनै पनि व्यवस्थामा इरानको भूमिकालाई स्वीकार गर्नुपर्ने अडान सार्वजनिक गरेको छ।

विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने मार्गका रूपमा परिचित होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र क्षेत्रीय सुरक्षामाथि थप दबाब सिर्जना गर्ने चिन्ता बढेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट