Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

भेनेजुएला भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते


काठमाडौं । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू तीव्र रूपमा जुटेका छन्।

काराकास र नजिकैको तटीय सहर ला गुइरामा भग्नावशेषभित्रबाट मानिसहरूले मद्दतका लागि पुकारेको आवाज सुनिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतहभन्दा कम गहिराइमा गएकाले क्षति निकै ठुलो भएको हो।

विपत्तिपछि थुप्रै मानिसहरू मारिएको आशङ्का गरिएको छ भने धेरै मानिस घरबारविहीन भएका छन्। घरहरू असुरक्षित भएपछि मानिसहरू डरले सडकमै रात बिताइरहेका छन्। बुधबार स्थानीय समय अनुसार साँझ ६:०४ बजे राष्ट्रिय बिदाको दिन भूकम्प गएकाले सामान्य दिनमा भन्दा धेरै मानिस घरमै थिए।

पहिलो भूकम्प जमिनको सतहबाट २०.३ किलोमिटर र दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रित थियो। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सङ्कटकाल घोषणा गरेपछि नेसनल एसेम्बलीका अध्यक्ष होर्गे रोड्रिगेजले बिहीबार मृतकको सङ्ख्या अझै बढेको जानकारी दिएका छन्।

पीडितहरूको उद्धार र राहतका लागि विभिन्न देशले सहयोगको प्रतिबद्धता जनाएका छन्। अमेरिकाले १५ करोड डलर सहायताको घोषणा गर्दै खोज, उद्धार र द्रुत राहत कार्यका लागि सैन्य जहाज र विमानहरू पठाउँदै छ। रोड्रिगेजका अनुसार मुख्य गरी ला गुइरामा २५० वटा भवनमा क्षति पुगेको छ वा ध्वस्त भएका छन्, जहाँ एउटा १० तले होटल पूर्ण रूपमा भत्किएको छ।

राजधानी काराकासका साथै ट्रुहियो, याराकुई, काराबोबो, अरागुआ र मिरान्डा क्षेत्र पनि प्रभावित भएका छन्। काराकास महानगरभित्र पर्ने चाकाओका मेयर गुस्ताभो डुकले एउटा भत्किएको भवन अगाडि उभिएर ११ जनाको मृत्यु भएको र २३ जनालाई जीवितै उद्धार गरिएको बताएका छन्।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट