सभामुख अर्यालको भनाइ : विदेशिएका नेपाली फर्किने वातावरण बनाउनुपर्छ
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई समृद्ध र सुशासित राष्ट्रका रूपमा विकास गर्दै विदेशिएका लाखौं नेपालीलाई स्वदेश फर्किने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
संसद दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले भ्रष्टाचार अन्त्य, सुशासनको प्रवर्द्धन र तीव्र विकासमार्फत नागरिकलाई आफ्नै देशमा भविष्य देख्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।उनले अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञान तथा ऊर्जालाई संयोजन गरेर देश निर्माणको अभियान अघि बढाउनुपर्ने धारणा राखे। युवापुस्तामा रहेको तीव्र विकासको चाहना र जनजीविकासँग जोडिएका मुद्दालाई सम्बोधन गर्न राज्यका तीनै अंगबीच समान गति र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
सभामुख अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकै उद्देश्यका साथ काम गरे मात्रै देशलाई द्रुत गतिमा समृद्धितर्फ लैजान सकिने उल्लेख गरे। साथै, संविधानको अक्षरशः कार्यान्वयन गर्दै कानुनी राज्यको मर्मअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए।
नेपालमा २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा प्रत्येक वर्ष संसद दिवस मनाइँदै आएको छ। यस वर्ष पनि विभिन्न कार्यक्रम गरी संसद दिवस मनाइएको हो।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया