Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु


कायरो। सुडानमा सर्वसाधारण बोकेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ। देशमा जारी गृहद्वन्द्वबीच मानवरहित विमान (ड्रोन) प्रयोग गरी हुने आक्रमणको संख्या पछिल्लो समय बढ्दै गएको अधिकारवादी संस्थाहरूले बताएका छन्।

सुडान डक्टर्स नेटवर्कका अनुसार बुधबार राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा सहभागी हुन गइरहेका सर्वसाधारण सवार सवारीसाधनमाथि गरिएको ड्रोन आक्रमणमा एउटै परिवारका पाँच महिलासहित १० जनाको मृत्यु भएको हो।उक्त समूहले आक्रमणको जिम्मेवारी अर्धसैनिक संगठन र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) माथि लगाएको छ। आक्रमणपछि सवारीसाधनमा आगलागी हुँदा त्यसमा रहेका सबै यात्रुको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

सुडान डक्टर्स नेटवर्कले सर्वसाधारणलाई लक्षित गरी योजनाबद्ध रूपमा आक्रमण गरिएको आरोप लगाउँदै यस्ता घटना रोक्न आरएसएफ नेतृत्वमाथि अन्तर्राष्ट्रिय समुदायले थप दबाब सिर्जना गर्नुपर्ने माग गरेको छ।यसअघि मङ्गलबार नर्थ कोर्डोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको अर्को ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको अधिकारवादी संस्था ‘इमर्जेन्सी लयर्स’ले जनाएको छ। त्यस्तै, त्यसको अघिल्लो दिन सोही प्रान्तको अल–शातउट क्षेत्रमा विवाह समारोहमा जाँदै गरेको सवारीसाधनमाथि ड्रोन प्रहार हुँदा पाँच महिलासहित १३ जनाको ज्यान गएको थियो।

इमर्जेन्सी लयर्सका अनुसार पछिल्ला दिनमा सर्वसाधारणलाई लक्षित गरी ड्रोनमार्फत हुने आक्रमण उल्लेखनीय रूपमा बढेका छन्।संयुक्त राष्ट्रसङ्घले नर्थ कोर्डोफान क्षेत्रमा भएका आक्रमणबाट विद्युत् पूर्वाधार, आवासीय बस्ती, पुल तथा आपूर्ति मार्गमा ठूलो क्षति पुगेको जनाएको छ।

सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच जारी द्वन्द्वका कारण हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भएको, करिब एक करोड ३० लाख मानिस विस्थापित भएको तथा तीन करोडभन्दा बढी नागरिक मानवीय सहायताको खाँचोमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। (रासस/एपी)


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट