बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइएको इरानको दाबी
काठमाडौं । इरानी सेनाले बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ। इरानले यो कारबाही अमेरिकी आक्रमणको जवाफस्वरूप गरिएको जनाएको छ।
बीबीसी फारसी सेवाका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा बहराइनको शेख इसा एयर बेसमा रहेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको उल्लेख गरिएको छ।इरानी सेनाले दक्षिणी इरानका सैन्य तथा गैरसैन्य क्षेत्रमा अमेरिकाले गरेको आक्रमण र दुई पक्षबीच भएको १४ बुँदे समझदारी उल्लङ्घनको प्रतिकारस्वरूप ड्रोनमार्फत आक्रमण गरिएको दाबी गरेको छ।
विज्ञप्तिमा युद्धविराम उल्लङ्घन भए त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिँदै यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू इरानी ड्रोनको पहुँचमा रहेको दाबी पनि गरिएको छ।
यसैबीच, बहराइनमा पुनः विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। एएफपीका संवाददाताका अनुसार बहराइनको उत्तरी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको थियो।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इरानमाथिको अमेरिकी आक्रमणको जवाफस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूका ८५ भन्दा बढी लक्ष्यलाई निशाना बनाइएको दाबी गरेको थियो। त्यसलगत्तै इरानी सेनाले पनि आफ्नो सैन्य कारबाहीबारे औपचारिक विज्ञप्ति जारी गरेको हो।
यद्यपि, अमेरिकी वा बहराइन सरकारले इरानको दाबीबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया