मध्य चीनको हुबेईमा विनाशकारी आँधीबेहरी र चक्रवात : ११ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते
काठमाडौं । मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको शक्तिशाली आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ भने ३३१ जना घाइते भएका छन्। घटनामा एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।
सोमबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म हुबेईको पूर्वी क्षेत्रमा पर्ने हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङलगायतका सहरमा मेघगर्जनसहित भीषण हावाहुरी चलेको थियो। केही स्थानमा हावाको गति ‘लेभल–१३’ सम्म पुगेको र चक्रवातसमेत आएको बताइएको छ।
प्राकृतिक विपत्तिका कारण २२ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४ हजार ८ सय ५५ वटा घर तथा अन्य संरचनामा क्षति पुगेको छ। तीव्र हावाहुरीले विद्युत्, यातायात तथा जनजीवनसमेत प्रभावित भएको जनाइएको छ।
घटनापछि प्रान्तीय सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। घाइतेहरूको उपचार, बेपत्ता व्यक्तिको खोजी, थप जोखिम न्यूनीकरण तथा राहत वितरणको काम पनि तीव्र गतिमा अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया