गृहमन्त्रीको निरीक्षणलाई लिएर फैलिएको समाचारमा प्रहरीको स्पष्टीकरण
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, झापाले गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा नाकाको निरीक्षण गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित सुरक्षाकर्मीहरूको मोबाइल नियन्त्रणमा नलिएको स्पष्टीकरण दिएको छ ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत कार्यालयले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता दाबीको खण्डन गरेको हो।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुरक्षाकर्मीहरू तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूलाई निगरानीमा राखिएको तथा मोबाइलसमेत नियन्त्रणमा लिइएको भन्ने समाचार सार्वजनिक भएका थिए। तर जिल्ला प्रहरी कार्यालय झापाले ती समाचार भ्रामक, कपोलकल्पित र आधारहीन भएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा गृहमन्त्रीले निरीक्षणका क्रममा कुनै पनि सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा नलिएको र उनीहरूलाई निगरानीमा राखिएको भन्ने दाबीमा कुनै सत्यता नरहेको उल्लेख गरिएको छ।
साथै प्रहरीले पुष्टि नभएका र आधारहीन सूचनाको प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। तथ्यहीन समाचारले जनमानसमा भ्रम सिर्जना गर्ने भएकाले समाचार सम्प्रेषणअघि सत्यतथ्य पुष्टि गर्नुपर्नेमा पनि प्रहरीले जोड दिएको छ।

क्याटेगोरी : समाचार













प्रतिक्रिया