Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

फ्रान्सेली राष्ट्रपति म्याक्रोनको सिरिया भ्रमणका क्रममा विस्फोट: ४ प्रहरीसहित १८ जना घाइते


काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सिरियाको औपचारिक भ्रमणमा रहेका बेला राजधानी दमास्कसमा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन्। घटनामा कम्तीमा १८ जना घाइते भएका छन् भने राष्ट्रपति म्याक्रोन सुरक्षित रहेको फ्रान्स सरकारले जनाएको छ।

विस्फोट म्याक्रोनले रात बिताएको ‘फोर सिजन्स होटल’ नजिक पर्यटन मन्त्रालय र राष्ट्रिय सङ्ग्रहालयबीचको व्यस्त सडक क्षेत्रमा भएको हो। घटनापछि आसपासको क्षेत्रमा धुवाँको मुस्लो उठ्नुका साथै केही सवारीसाधनमा आगलागी भएको बताइएको छ।फ्रान्सेली राष्ट्रपतिको कार्यालय एलिसी प्यालेसका अनुसार विस्फोट हुनुअघि नै म्याक्रोन उक्त क्षेत्र छाडेर सिरियाली राष्ट्रपति अहमद अल–सारासँग भेटवार्ताका लागि पिपल्स प्यालेस पुगिसकेका थिए। त्यसैले उनको सुरक्षामा कुनै असर नपरेको अधिकारीहरूले स्पष्ट पारेका छन्।

सिरियाली गृह मन्त्रालय र एएफपीका अनुसार जुम्ल्याहा विस्फोटमा परी कम्तीमा १८ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये चार जना सुरक्षाकर्मी रहेको जनाएका छन्।प्रारम्भिक जानकारीअनुसार सडक किनारमा रहेको फोहोर फाल्ने कन्टेनर र पार्किङमा राखिएको एउटा गाडीमा घरेलु विस्फोटक पदार्थ राखिएको थियो। सुरक्षाकर्मीले ती बम निष्क्रिय पार्ने प्रयास गरिरहेकै बेला लगातार दुईवटा विस्फोट भएको बताइएको छ। घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन।

१४ वर्ष लामो गृहयुद्ध र बसर अल–असदको शासन अन्त्यपछि बनेको नयाँ सरकारको निमन्त्रणामा सिरिया भ्रमण गर्ने म्याक्रोन पहिलो पश्चिमी तथा युरोपेली राष्ट्रप्रमुख हुन्।

भ्रमणका क्रममा फ्रान्स र सिरियाबीच कूटनीतिक सम्बन्धलाई पुनः सक्रिय बनाउने, लामो समयपछि दुवै देशमा राजदूत नियुक्त गर्ने तथा सिरियाको वित्तीय प्रणाली, खानेपानी, विद्युत् र दमास्कस विमानस्थलको कार्गो पूर्वाधार पुनर्निर्माणमा फ्रान्सले सहयोग गर्ने सहमति भएको छ।

विश्लेषकहरूले म्याक्रोनको भ्रमणलाई सिरियाको नयाँ प्रशासनका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा लिएका छन्। तर भ्रमणकै क्रममा राजधानीको सुरक्षित मानिएको क्षेत्रमा विस्फोट हुनुले देशमा सुरक्षा चुनौती अझै कायम रहेको संकेत गरेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट