माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारी कटौती गर्ने
प्रमुख ‘आईटी’ अर्थात् सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।
यो सङ्ख्या कम्पनीको कुल जनशक्तिको झन्डै २ दशमलव १ प्रतिशत हो । यी कटौतीको मुख्य मार कम्पनीको ‘एक्सबक्स’ विभागलाई पर्ने बीबीसीले जनाएको छ ।
कर्मचारीहरूलाई पठाइएको सन्देशमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा कम्पनीले ग्राहकहरूलाई अझ धेरै मूल्य प्रदान गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छिन् ।
यस पुनर्संरचनाअन्तर्गत ‘एक्सबक्स’ मा १ हजार ६०० भन्दा धेरै रोजगारी तत्काल कटौती गरिने खबरमा उल्लेख छ ।
भर्खरै ‘एक्सबक्स’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेकी आशा शर्माले कर्मचारीहरूलाई पठाएको सन्देशमा कम्पनीको इतिहासमै सबैभन्दा ठूलो पुनर्संरचनाको प्रक्रिया शुरू गरिरहेको बताएकी छिन् ।
यी परिवर्तनहरू ‘एक्सबक्स’ लाई सानो बनाउनका लागि नभई यसको अझ ठूलो भविष्यका लागि गरिरहेको उनको भनाइ छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय, अर्थ













प्रतिक्रिया