ट्रम्पको धम्कीपछि इरानका विदेशमन्त्रीको चेतावनी
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानविरुद्धको धम्की कायम रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि कुनै पनि वार्ता सुरु नहुने बताएका छन्।उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै दिएको चेतावनीपूर्ण अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै यस्तो धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले इरानले सम्झौता नगरे आफू आफ्नो उद्देश्य पूरा नभएसम्म नरोकिने बताएका थिए।
बीबीसी फारसीका अनुसार मंगलबार अराघचीले अमेरिकासँग भएको सम्झौतापत्रको धारा १३ उल्लेख गर्दै इरानमाथिको दबाब र धम्की जारी रहँदासम्म अन्तिम सम्झौताका लागि वार्ता अघि नबढ्ने स्पष्ट पारे। उनले अमेरिकालाई आफूले हस्ताक्षर गरेको प्रतिबद्धताको सम्मान गर्न पनि आग्रह गरे।यसअघि ट्रम्पले इरानले या त सम्झौता गर्नुपर्ने वा त्यसको परिणाम सामना गर्नुपर्ने संकेत दिएका थिए। उनको उक्त अभिव्यक्तिपछि दुवै देशबीचको तनाव फेरि चर्किएको देखिएको छ।यसैबीच, अराघचीले इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा लाखौं नागरिक सहभागी भएको उल्लेख गर्दै इरानी जनताको एकता र राष्ट्रिय आत्मविश्वासलाई पनि जोड दिएका छन्।
उनका अनुसार पूर्व नेतालाई श्रद्धाञ्जली दिन देशभरबाट नागरिकहरू एकताबद्ध भएर भेला भएका थिए। उनले इरानी जनता र सुरक्षा बल कुनै पनि बाह्य दबाब वा खतराबाट नडराउने समेत बताएका छन्।
अराघचीको पछिल्लो अभिव्यक्तिलाई अमेरिका–इरान सम्बन्धमा जारी तनावबीच तेहरानले आफ्नो अडान दोहोर्याएको रूपमा हेरिएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय












प्रतिक्रिया