चीनको गान्सुमा पहिरो, २१ जना अस्थायी वन कामदारको मृत्यु
काठमाडौँ । चीनको गान्सु प्रान्तस्थित ताङचाङ काउन्टीमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बुधबारसम्म खोज तथा उद्धार कार्य सम्पन्न भएसँगै मृतक र उद्धार गरिएका सबैको विवरण सार्वजनिक गरिएको हो।
मंगलबार बिहान गएको पहिरोले दुर्गम क्षेत्रमा रहेको एक सरकारी वन फार्ममा काम गरिरहेका अस्थायी श्रमिकहरूलाई पुरेको थियो। उनीहरू नजिकैका गाउँबाट जमिन सफाइ तथा मर्मतसम्भारका लागि त्यहाँ पुगेका थिए।
स्थानीय प्राकृतिक स्रोतसम्बन्धी अधिकारीहरूका अनुसार करिब ४० मिटर चौडा पहिरोले झण्डै ५ हजार ४ सय वर्ग मिटर क्षेत्र ढाकेको थियो। ८ देखि १० मिटर गहिरो माटोको ढिस्कोमा ३३ जना कामदार पुरिएका थिए।
उद्धार टोलीले सबै ३३ जनालाई बाहिर निकालेको छ। तीमध्ये २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १२ जना जीवित उद्धार भएका छन्। जीवित भेटिएकामध्ये सात जना सामान्य घाइते भएका छन् भने पाँच जना सकुशल रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
घटनापछि चिनियाँ राष्ट्रपति सी चिनपिङले उद्धार कार्यलाई तीव्र बनाउन र थप मानवीय क्षति हुन नदिन सबै उपलब्ध स्रोत परिचालन गर्न निर्देशन दिएका थिए।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माण तथा अत्यावश्यक सार्वजनिक सेवा पुनःस्थापनाका लागि ३ करोड युआन (करिब ४४ लाख अमेरिकी डलर) बराबरको राहत रकम उपलब्ध गराएको जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार भिरालो भूभाग, भू-क्षय र कमजोर भौगोलिक संरचनाका कारण पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ। अधिकारीहरूले प्रभावित क्षेत्र अझै अस्थिर रहेकाले पुनः पहिरो जान सक्ने जोखिम रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया