अस्पताल पुगेका गायक यम बरालमा रक्त क्यान्सर पुष्टि, दुई चरणको केमोथेरापी सुरु
चर्चित गायक यम बराल अत्यधिक ढाड दुख्ने समस्यापछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रहेका छन्। उनलाई गणेशमान भवनअन्तर्गतको अर्थोपेडिक वार्डमा भर्ना गरी उपचार भइरहेको छ।
गायक बरालका भतिजा सञ्जय बरालका अनुसार करिब एक महिनादेखि उपचार तथा विभिन्न स्वास्थ्य परीक्षणपछि उनलाई मल्टिपल माइलोमा भएको पुष्टि भएको हो। यो प्लाज्मा सेलबाट विकसित हुने एक प्रकारको रक्त क्यान्सर हो।
चिकित्सकका अनुसार मल्टिपल माइलोमामा क्यान्सरयुक्त प्लाज्मा कोषहरू हड्डीको मज्जामा बढ्न थाल्छन्, जसले स्वस्थ रक्तकोषहरूको उत्पादनमा असर पुर्याउँछ। यद्यपि, सञ्जय बरालले अनुमान गरिएजस्तो अवस्था गम्भीर नरहेको र समयमै उपचार सुरु भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
उनका अनुसार गायक बराललाई हालसम्म दुई चरण (साइकल) को केमोथेरापी दिइसकिएको छ। उपचारपछि सामान्यतया देखिने अत्यधिक थकान वा शरीर गल्ने जस्ता लक्षण उनीमा खासै नदेखिएको पनि उनले जानकारी दिए।
हाल अत्यधिक ढाड दुखाइका कारण चिकित्सकले उनलाई हिँडडुल गर्न अनुमति दिएका छैनन्। तर, उनी सहज रूपमा बोल्न सक्ने, सबै कुरा स्पष्ट रूपमा सम्झन सक्ने र मानसिक अवस्था सामान्य रहेको परिवारले जनाएको छ।
‘उपचार समयमै सुरु भएकाले निराश हुनुपर्ने कुनै कारण छैन। काका छिट्टै पूर्ण रूपमा सुस्वास्थ्य भएर फर्किनुहुने विश्वास छ,’ भतिजा सञ्जय बरालले बताएका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया