वामपन्थी एकतामा दाहाल–नेपालको फरक धार
काठमाडौं । वामपन्थी एकताको विषयमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुस्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालबीच फरक धार सार्वजनिक रूपमा देखिएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले एमालेसहितको बृहत् वाम एकताको आवश्यकता औंल्याएका थिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको बताउँदै प्रदेश सरकारसमेत नेपाली कांग्रेस, एमाले र नेकपासहितको सर्वदलीय स्वरूपमा अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
तर सहसंयोजक माधव नेपालले भने एमाले अध्यक्ष खड्गप्रसाद ओलीमा कुनै सुधार नदेखिएको भन्दै ओली नसुध्रिएकाले तत्काल वाम एकताको सम्भावना नरहेको बताएका छन् । उनले पार्टी पंक्तिलाई अहिले एकताको बहसभन्दा पनि आफ्नै संगठन सुदृढीकरण र आन्तरिक मजबुतीमा केन्द्रित हुन निर्देशन दिएको स्रोतले जनाएको छ ।
सुर्खेतमा सम्पन्न कर्णाली स्तरीय प्रशिक्षण कार्यक्रममा अपेक्षाअनुसार नेता तथा कार्यकर्ताको उपस्थिति हुन नसकेको बताइएको छ । विशेषगरी कर्णालीका माथिल्ला जिल्लाबाट सहभागिता अत्यन्त न्यून रहेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा सहभागी केही नेता तथा कार्यकर्ताले पार्टी पुरानै शीर्ष नेतृत्वको शैलीमा अघि बढ्न नसक्ने टिप्पणीसमेत गरेका थिए । उनीहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण, स्पष्ट वैचारिक दिशा र प्रभावकारी संगठन निर्माणबिना पार्टीले गति लिन नसक्ने धारणा राखेका थिए ।
पार्टीभित्र नेतृत्व, कार्यदिशा र वाम एकताको मोडालिटीबारे फरक–फरक मत देखिन थालेपछि आगामी दिनमा यसको राजनीतिक प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ । विशेषगरी एमालेसँग एकता गर्ने वा स्वतन्त्र राजनीतिक लाइनमा अघि बढ्ने भन्ने प्रश्नमा शीर्ष तहभित्रै मत विभाजन देखिएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया