रास्वपा केन्द्रीय सदस्य भूगोल कोसीबाट स्वास्थ्यमन्त्री मेहतासहित यी पाँच जना निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत कोशी प्रदेश (भूगोल समूह) बाट केन्द्रीय सदस्य पदका लागि नयाँ नेतृत्व चयन भएको छ। प्रतिस्पर्धात्मक निर्वाचनबाट पाँच जना नेता केन्द्रीय समितिमा निर्वाचित भएका हुन्।
निर्वाचित हुनेमा स्वास्थ्यमन्त्री निशा मेहता, प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेल, नेतृ शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ रहेका छन्।
स्वास्थ्यमन्त्रीसमेत रहेकी मेहताले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरिन्। ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद विश्वराज पोखरेल पनि निर्वाचित भएका छन्। त्यस्तै, ओखलढुंगाकी नेतृ शोभा कार्कीले समेत केन्द्रीय समितिमा आफ्नो स्थान बनाउन सफल भइन्। उनी अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमा सिफारिस भए पनि सांसद बन्न सकेकी थिइनन्।
कोशी प्रदेशबाट कल्पना थापा र सुजाता तामाङ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महाधिवेशनबाट चयन भएका नेतामध्ये अधिकांश नयाँ अनुहार रहेको रास्वपा वृत्तमा चर्चा छ।यस प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि पारसमणि गेलाल, लालविक्रम थापा, प्रकाश पाठक, सिर्जना लामा फोम्बो, सयमलाल चौधरी, प्रजना राई, नवीन खड्का, भूमिनन्द बराल, वीरेन्द्र श्रेष्ठ, पिताम्बर तिम्सिना, राजकुमार राई, कृष्णबहादुर चोङबाङ लिम्बु, ऋतुराज लिम्बु, रमेशप्रसाद ओझा र धनेश्वर शाहलगायतले उम्मेदवारी दिएका थिए।
यसअघि कोशी प्रदेश महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका प्रतिनिधिसभा सदस्य लालविक्रम थापा तथा झापाका पूर्वजिल्ला अध्यक्ष एवं सांसद प्रकाश पाठक भने निर्वाचनमा पराजित भएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया