कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको जोखिम
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ र केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसमविद्हरूले जनाएका छन्।
तराई क्षेत्रमा पनि वर्षाको प्रभाव रहने अपेक्षा गरिएको छ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।रातिको समयमा पनि मौसममा खासै सुधार नआउने पूर्वानुमान छ। देशभर सामान्य बदली कायम रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रसँगै कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका उच्च भेगमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।यसका साथै पहाडी र तराईका केही स्थानमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा जारी रहन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी किनार, पहिरोको जोखिमयुक्त क्षेत्र तथा डुबान प्रभावित स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया