Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

सरकारको १०० दिनबारे बाबुराम भट्टराईको मिश्रित विश्लेषण


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई परिवर्तनको प्रारम्भिक प्रयासका रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले परम्परागत संसदीय राजनीतिको मापदण्डबाट हेर्दा उल्लेखनीय उपलब्धि नदेखिए पनि पुरानो शासकीय शैलीलाई रूपान्तरण गर्ने प्रयत्नका रूपमा यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।सरकारको सय दिन पूरा भएपछि विभिन्न वर्ग र समुदायबाट आ–आफ्नै दृष्टिकोणअनुसार मूल्यांकन हुनु स्वाभाविक रहेको उल्लेख गर्दै भट्टराईले सरकारप्रतिको धारणा हेर्ने दृष्टिकोणअनुसार फरक हुन सक्ने बताएका छन्। उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने उक्ति उद्धृत गर्दै यही सन्दर्भलाई प्रस्ट्याएका छन्।

उनका अनुसार दशकौँदेखि चलिआएको परम्परागत संसदीय अभ्यासको निरन्तरता चाहनेहरूलाई वर्तमान सरकारका प्रारम्भिक दिन उपलब्धिविहीन लाग्न सक्छन्। स्थापित राजनीतिक संरचना र कार्यशैलीमा परिवर्तनको संकेत देखिएपछि केही पुराना राजनीतिक शक्तिमा असहजता र आशंका उत्पन्न हुनु स्वाभाविक रहेको उनको भनाइ छ।डा. भट्टराईले नेपाली राजनीतिमा पुस्तान्तरण, नयाँ नेतृत्वको उदय र गैरपरम्परागत पृष्ठभूमिबाट आएको नेतृत्वलाई ध्यानमा राखेर मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार अहिलेको चरणलाई पुरानो शासकीय संस्कारबाट नयाँ अभ्यासतर्फको संक्रमणकालका रूपमा बुझ्न सकिन्छ।

उनले सरकारलाई तत्काल असफल घोषणा गर्नु उपयुक्त नहुने उल्लेख गर्दै केही समय ‘शंकाको लाभ’ दिनुपर्ने धारणा व्यक्त गरेका छन्। नेपालको जटिल भूराजनीतिक अवस्था, वैदेशिक निर्भर अर्थतन्त्र र तीव्र आर्थिक–सामाजिक रूपान्तरणको चुनौतीका बीच सरकारका प्रारम्भिक दिनलाई सिकाइ र अनुभवको अवधिका रूपमा लिनुपर्ने उनको सुझाव छ।

भट्टराईले प्रारम्भिक कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा सरकार अझ स्पष्ट कार्ययोजना, गम्भीरता र मेहनतका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट