Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

चिनियाँ उपमन्त्री यान नेपाल आउँदै


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको बताइएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

मंगलबार बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्ने बताइएको छ ।

मन्त्री खनालको भ्रमणको क्रममा नेपाल र चीनबिचको द्विपक्षीय व्यापार, आर्थिक, प्राविधिक सहायता, कनेक्टिभिटी, सडक सञ्जाललगायतको विषयमा भएको कुराकानीबारे पनि थप छलफल हुने बताइएको छ ।

चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिनकै दिन उपमन्त्री यान आउन लागेका छन् । दलाई लामाका नेपालस्थित अनुनायीहरूले लामाको जन्म दिन मनाउने तयारी गरिरहेका छन् । त्यसका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

जेनजी आन्दोलनमा दलाई लामाको सहयोग रहेको कुरा बाहिर आएपछि नेपालप्रति चीन सशङ्कित बनेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले शुभकामना एवं बधाई दिएका थिए । जेनजी आन्दोलनमा टीओबीको संलग्नताबारे राजनीतिवृत्तमै चर्चा हुने गरेको छ ।

गत मे २७ मा तिब्बती निर्वासित सरकारको प्रमुख पेनपा त्सेरिंगको शपथग्रहण समारोहमा सहभागी हुन नेपाललाई पनि निम्तो थियो । तर चीनको आग्रहमा सो शपथ समारोहमा नेपालको तर्फबाट कोही पनि सहभागी नभएको जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट