Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

महाराष्ट्रमा भीषण वर्षाको कहर, मुम्बईका सबै विद्यालय–कलेज बन्द


भारतको महाराष्ट्र राज्यमा अविरल वर्षापछि जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। मंगलबार बिहानदेखि मुम्बईमा घना बादल, तीव्र हावा र लगातार वर्षा भएपछि मौसम विभागले ‘अलर्ट’ जारी गरेको छ।

भारी वर्षा र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै मुम्बईका सबै सरकारी, निजी तथा महानगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजमा मंगलबार बिदा घोषणा गरिएको छ।

सोमबारदेखि निरन्तर वर्षा भइरहेपछि मुम्बई र आसपासका जिल्लाका धेरै सडक जलमग्न भएका छन्। विभिन्न स्थानमा रुख ढल्ने, पर्खाल तथा होर्डिङ बोर्ड भत्किने घटनासमेत भएका छन्। दादरस्थित शिवाजी पार्क नजिक एउटा रुख कारमाथि खसेको बताइएको छ।

मौसम विभागले जारी गरेको तेस्रो तहको ‘अलर्ट’ अन्तर्गत नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सतर्क रहन आग्रह गरिएको छ। खराब मौसमका कारण यातायात, विद्युत् आपूर्ति र दैनिक जनजीवन प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट