कांग्रेसको नीति प्रतिष्ठानमा ८ नयाँ सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई समेट्दै ८ जना नयाँ सदस्य मनोनयन गरिएको छ।पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) अनुसार उनीहरूलाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन्।
प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार संगठनलाई थप समावेशी, सक्षम र विषयगत रूपमा सुदृढ बनाउने उद्देश्यले विभिन्न व्यावसायिक तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूलाई प्रतिष्ठानमा समेटिएको हो।मनोनीत सदस्यहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पन्थ, अल्पसंख्यक ह्योल्मो समुदायसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. प्रेमध्वज लामा, ‘पब्लिक पोलिसी’मा स्नातकोत्तर तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व संयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष रेशम गुरुङ तथा कृषि अभियन्ता एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले रहेका छन्।
यस्तै, ‘एलजिबिटिक्युआइए’ समुदायको प्रतिनिधित्व गर्दै अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी प्रतीक्षा चापागाईं, मास कम्युनिकेसनमा स्नातकोत्तर गरेका मोहन गजुरेल र सोही विषयमा स्नातकोत्तर गरेकी अनुपा श्रेष्ठलाई पनि प्रतिष्ठानको सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया