१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएसँगै १२ वर्षदेखि रोकिएको आयोजना अघि बढ्ने भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा–ढल्केबर ४०० केभी विद्युत् प्रसारण लाइन आयोजनाको मकवानपुर खण्डमा पर्ने वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणलाई हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको मकवानपुर खण्डको एलाइनमेन्ट परिवर्तनका लागि आवश्यक सर्त पालना गर्ने गरी राष्ट्रिय वनको २.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।
उक्त निर्णयसँगै हेटौँडा–१५ स्थित रातोमाटे सामुदायिक वन उपभोक्ता समूह र बकैया–२ स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको वन क्षेत्र प्रयोग गर्न पाइने भएको छ । सो क्षेत्रमा रहेका विभिन्न प्रजातिका १ हजार २ सय ९२ वटा रुख तथा पोल हटाउन समेत अनुमति दिइएको छ ।
४०० केभी क्षमताको प्रसारण लाइनका लागि दायाँबायाँ गरी करिब ४६ मिटरको ‘राइट अफ वे’ आवश्यक पर्छ । त्यस क्षेत्रमा पर्ने रुख हटाउने र जग्गा प्रयोगसम्बन्धी प्रक्रिया पूरा गर्न नसक्दा आयोजना लामो समयदेखि रोकिएको थियो ।
हालसम्म हेटौँडादेखि पूर्वतर्फ १३२ केभी क्षमताको प्रसारण संरचना मात्र रहेकाले विद्युत् प्रवाहमा समस्या हुँदै आएको थियो । नयाँ प्रसारण लाइन बनेपछि राष्ट्रिय विद्युत् प्रणाली थप बलियो र भरपर्दो बन्नेछ ।
झ्याप–झ्याप बत्ती जाने समस्या घट्ने
प्राधिकरणका अनुसार नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि पटक–पटक हुने ट्रिपिङ, सिस्टम डाउन हुने समस्या र लामो समय विद्युत् पुनःस्थापना गर्नुपर्ने अवस्था घट्नेछ ।
हाल हेटौँडाबाट पूर्वतर्फ सीमित क्षमतामा मात्रै विद्युत् पठाउन सकिने अवस्था थियो । काठमाडौंमा बढी भएको बिजुली त्रिशुली करिडोरमा जुन हाइड्रो पावरहरु छ, काठमाडौंमा राति खपत भएन भने हेटौंडामै आउँछ । १३२ केभीको मातातीर्थ कुलेखानी हुँदै पुरानो सर्किटबाट हेटौडा आउँछ ।
तर हेटौंडाबाट पूर्वतिर जान नसक्ने समस्या थियो । सानो लाइन भएर २०० मेगावाटमात्र जानसक्ने थियो । त्योभन्दा बढीको विद्युत पूर्व पठाउनै नसक्ने थियो । अब यो लाइन भयो भने २ हजार २५ सय मेगावाट जानसक्ने छ । हाइवे तयार भए पछि जति नै पावर बोकेर जान सक्ने हुन्छ ।
दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
प्राधिकरणका अनुसार अब प्रसारण लाइन निर्माणको बाँकी काम करिब डेढदेखि दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअन्तर्गत १६ वटा टावर निर्माण गरिनेछ । तीमध्ये २ वटा टावर एमसीए नेपाल र १४ वटा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नेछ ।
श्रेष्ठका अनुसार हेटौँडा–ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत् प्रणालीको विश्वसनीयता बढ्नेछ र उद्योग क्षेत्रमा समेत पर्याप्त विद्युत् आपूर्ति गर्न सहज हुनेछ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया