सरकारले थप तीन अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठायो
काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो ।
विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।
यसअघि सोमबार सरकारले दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । त्यतिबेला सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरेको थियो ।
यसअघि सरकारले सोमबार संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेश गरेको थियो।
संसद छलेर अध्यादेश लिएको भन्दै विरोध भइरहेको छ। अध्यादेश ल्याएको विषयमा विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदसँग छलफलसमेत गरेका छन्।
अध्यादेशको विषयमा रास्वपाभित्रै दुई धार देखिएको छ। कतिपयले अध्यादेश ल्याउनुपर्ने बाध्यता रहेको भन्दै समर्थन गरेका छन् भने कतिपयले विरोध गरेका छन्।
अध्यादेश संसद नभएको समयमा अतिआवश्यक भएपछि मात्र ल्याइने गरिन्छ। तर सरकारले बोलाइएको संसद अधिवेशनसमेत रोकेर अध्यादेश ल्याएपछि सरोकारवालाहरू विरोध गरिरहेका छन्।
क्याटेगोरी : समाचार












प्रतिक्रिया