इराकमाथि सेनेगलको ५–० को फराकिलो जित, नकआउट सम्भावना जीवित
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ।
टोरोन्टो स्टेडियममा शनिबार बिहान भएको खेलमा सेनेगलले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको चौथो मिनेटमै हबिब डियाराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
इराकलाई १३औँ मिनेटमै ठूलो धक्का लागेको थियो। डिफेन्डर रेबिन सुलाकाले रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सीमित बनेको थियो। त्यसपछि संख्यात्मक अग्रताको पूरा फाइदा उठाउँदै सेनेगलले लगातार गोल गर्दै फराकिलो जित दर्ता गर्यो।
सेनेगलका लागि ५६औँ मिनेटमा इस्माइला सारले दोस्रो गोल गरे। त्यसपछि पापेले ५९औँ र ७१औँ मिनेटमा दुई गोल थप्दै खेललाई ४–० को अवस्थामा पुर्याए। इलमान न्डियाईले अन्तिम गोल गर्दै सेनेगलको ५–० को प्रभावशाली जित सुनिश्चित गरे।
यस जितसँगै सेनेगल समूह ‘आई’ मा तेस्रो स्थानमा रहेको छ। यद्यपि, अन्तिम ३२ मा स्थान बनाउन उसले अन्य समूहका तेस्रो स्थानमा रहने टोलीहरूको नतिजा कुर्नुपर्नेछ। उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये परेमा सेनेगल नकआउट चरणमा प्रवेश गर्नेछ।
यस समूहबाट फ्रान्स ९ अंकसहित शीर्ष स्थानमा तथा नर्वे ६ अंकसहित दोस्रो स्थानमा रहँदै यसअघि नै नकआउट चरणमा पुगिसकेका छन्।
उता, लगातार हार व्यहोरेको इराक भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया